आज काँग्रेस केन्द्रीय समितिको बैठक, आन्दोलन कि अदालत भन्नेबारे बहस हुने
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो ।
यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आजदेखि निरन्तरता पाउने भएको हो ।
बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् भने अब बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् । आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ ।
काँग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
खासगरी सभापति शेरबहादुर देउवाको समूह अदालतको निर्णय पर्खने पक्षमा देखिएको छ । देउवालाई ओलीसँग गोप्य साँठगाठ गरेको र संसद विघटनमा सघाउने बचन दिएको आरोप लाग्दै आएको छ ।
उता वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने तत्कालको नाफा घाटा हेर्ने भन्दा संविधानको रक्षामा आन्दोलनमा उत्रनुपर्ने पक्षमा बलियो गरी उभिएको छ । कांग्रेसको अलमलले प्रतिपक्षहरुको संयुक्त आन्दोलनका कार्यक्रम पनि प्रभावित हुँदै आएको छ ।