माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको काठमाडौंमा आयोजित भेलामा पटक पटक नेता नेपालको शैलीको नक्कल गर्दै उडाए ।
‘उहाँको बारेमा खासै टिप्पणी गर्दिनँ । उहाँ दुःखी मान्छे हो । नजिकै बस्न पाउनुभाथ्यो,’ उनले भने, ‘उधारो हुन्न भन्नुहुन्थ्यो । हाताहाती के लिए भनेको द्वितीय अध्यक्ष लिएछन् ।’ उनले जुट्न पो दुई अध्यक्ष चाहिने, फुट्न किन दुई अध्यक्ष चाहियो भन्दै प्रश्न गरे ।
उनले दाहाल-नेपालले आफ्नो मृत्युको सपना देखेको आरोप लगाए । ‘वैशाखबाट ओलीको आयु सकिन्छ भन्नुभाछ । उहाँहरुको भविष्यवाणी मिल्दैन । म बिरामी हुँदा मर्छ भन्थे, मरिनँ । उपचार गर्न विदेश गएँ काठको बाकसमा फर्किन्छ भने म प्लेनको सिटमा आएँ । पछि इन्फेक्सन हुँदा पनि निको भएँ । मरिनँ,’ उनले भने, ‘मान्छे मरोस् भन्ने कामना विरोधीको पनि गर्नुहुन्न । स्वास्थ्यलाभको कामना गर्नुपर्छ ।’
उनले खेल्न जानेकैसँग खेल्न मजा आउने भन्दै आफूले त्यही गर्ने बताए ।
उनले सडकमा गएर कपडा नबिगार्न दाहाल-नेपाललाई सुझाव दिए । ‘चुनाव हुँदैन पनि भन्नुहुन्छ । ओली पत्तासाफ हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘सडकमा बसेर कपडा नबिगार्नुस् । चुनावको तयारी गर्नुस् ।’
उनले काल आयो भने कमिलाको प्वाँख पलाउँछ भन्दै दाहाल-नेपालको एकएक हिसाब जनताले गरेर बसेको बताए ।
ओलीले प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको बताए । प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको उनको बुझाई थियो ।
आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले टिप्पणी गरे । ‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर मैले तीन वर्ष सम्झाएँ,’ भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’
ओलीले अघि भने, ‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’