प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–माधव समूहको नेकपाले गर्याे देशभर प्रदर्शन
काठमाणर्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड–माधव समूहको नेकपाले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गरेको छ ।
गत मंसिर ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको प्रतिनिधि सभा भंग गरेपछि सुरु भएको ओलीविरुद्धको आन्दोलन अनुरुप आज काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड–माधव समूहले बृहत विरोध सभाको आयोजना गरी शक्ति प्रदर्शन गरेको हो ।
प्रचण्ड–माधव समूहको नेकपा निकट विभिन्न संगठनहरुले काठमाडौंको विभिन्न स्थानबाट दिउँसो र्याली निकालेका थिए । जसमा उनीहरुले कालो व्यानर, पार्टीको झण्डा र सुर्य चिन्ह बोकेका थिए ।
भृकुटीमण्डपमा भेला भएको कार्यकर्ताहरुले सहिदगेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै पुनः भृकुटीमण्डपमा आएर कोणसभा गरेका थिए ।
जसमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाख खनाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायतले सम्बोधन गरेका थिए ।
विरोधसभाका सबै वक्ताहरुले प्रधानमन्त्री ओलीको विरोधमा समय खर्च गरेका थिए ।
प्रचण्ड–माधव समूहको नेकपाका अध्यक्ष प्रचण्डले केपी ओलीले इतिहासमा कहिल्यै नमेटिने गरी कलंकको टीका लगाएको बताए ।
उनले भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरे भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’
उनले प्रधानमन्त्री ओली वास्तवमा गणतन्त्रको पक्षमै नरहेको भन्ने आफूलाई पहिल्यै थाहा भएको बताए ।
‘ओली गणतन्त्रवादी आन्दोलनको पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाडाको सिद्धान्त पनि थाहा थियो,’ उनले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिए भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने ठान्यौ । तर ओली त अझै बयलगाडामै रहेछन्, केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमता याचना गर्न चाहन्छु ।’