कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै, कुन नेता कहाँ सहभागी हुने
काठमाडौं । संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशव्यापी प्रदर्शन गर्दैछ ।
कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ ।
पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।
औपचारिकताका लागि विरोध कार्यक्रम तय गरे पनि सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा रहेको भन्दै कांग्रेसभित्रै आलोचना समेत हुँदै आएको छ । यही विषयमा हिजो देउवाले महामन्त्री शशांक कोइरालासहित आफू निकटका नेताहरुसँग छलफल गरेका छन् ।
संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन नहुने देउवा पक्षको निष्कर्ष छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा अहिले विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । सरकारको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष, जनता समाजवादी पार्टीले आन्दोलन गरिसकेका छन् ।