रहेनन् पुराना बामपन्थी नेता शशी शेरचन उर्फ स्वनाम साथी

निरन्तर न्यूज
११ पुष २०७७, शनिबार १५:११

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले पुराना वामपन्थी नेता स्वनाम साथी (शशी शेरचन)लाई स्मरण गरेका छन् । शुक्रबार राति काठमाडौंको मोडेल अस्पतालमा उपचारको क्रममा दिवंगत भएका साथीलाई प्रचण्डले कम्युनिष्ट आन्दोलनका आदर्श पात्रको रुपमा चित्रित गरेका छन् ।

‘हाम्रो पार्टीका राष्ट्रिय सल्लाहकार परिषदका सदस्य कमरेड स्वनाम साथी (शशी शेरचन)को शुक्रवार राति ९ः३० बजे मोडल अस्पताल, काठमाडौंमा असामयिक निधन भएको खबरले हामीलाई दुखित् तुल्याएको छ,’ शनिबार एक विज्ञप्ति जारी गर्दै प्रचण्ड भनेका छन्, ‘उहाँको जन्म २००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीको कोखबाट भएको थियो ।’

प्रचण्डले साथीलाई सम्भ्रान्त परिवारमा जन्मेर पनि विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गरेको भन्दै उच्च प्रसंशा गरेका छन् । ‘कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भयो । २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो ।’

स्वनाम साथीले आदर्शपूर्ण पक्ष नै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् ।’

प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टी कमरेड स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*