संसद बैठक आव्हानको लागि जसपाको सभामुखलाई आग्रह

निरन्तर न्यूज
९ पुष २०७७, बिहीबार १९:१४

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि सापकोटालाई भेटेर संसद बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार संसद बैठक बोलाउन जसपा नेताहरुले सभामुख सापकोटालाई आग्रह गरेका हुन् । विहीबार सभामुख सापकोटालाई जसपाका शीर्ष नेताहरुले भेट गर्दै संसद जीवितै रहेको भन्दै बैठक बोलाउन आग्रह गरेको जसपा युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह गर्दै जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सभामुख अग्नि सापकोटालाई सिंहदरबारमा भेट गरेको नेता पाण्डेले जानकारी दिए ।

‘प्रतिनिधिसभा अहिले पनि जीवितै छ, त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधिसभाको बैठक सुरु गर्न आह्वान गरेका हौं,’ जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईको भनाईं उद्धृत गर्दै पाण्डेले भने ।

बुधबार सभामुख सापकोटाले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति जारी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*