ओलीलाई प्रचण्डको प्रश्न : एक तिहाई ले दुई तिहाई थप्न मिल्छ

निरन्तर न्यूज
७ पुष २०७७, मंगलवार १७:२२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको भेलाबाट विस्तारित केन्द्रीय कमिटीको वैधतामाथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन् ।

उनले ओलीलाई प्रश्न गरेका छन्, ‘एक तिहाई केन्द्रीय सदस्यको बैठकले झण्डै तीन तिहाई सदस्य संख्या थप्न कसरी मिल्छ ?’

बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । यसअघि रहेको ४४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्षभित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाए पनि काम गर्न नसककाले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ । जसमा हाललाई १ हजार ३ सदस्सीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिने जनाइएको छ ।

तर प्रचण्डले आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा ओलीले बोलाएको बैठक वैधानिक नभएको दावी गरेका छन् । उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको बैठकलाई सम्बोधन गर्दै बताएका छन् । ‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने ।

संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू रहेको पनि उनले बताए । प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने पनि दावी गरे । उनले दुई नेतासँग आफूले मंगलबार बिहान मात्रै कुराकानी गरेको भन्दै उनीहरुलाई यो बैठकले देख्न चाहेको पनि बताए ।

प्रचण्डले आफूहरुले नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधित्व गरेको दावी पनि गरेका छन् । ‘यहाँ (बैठकस्थलमा) तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति छ,’ उनले भने, ‘त्यसैले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यो नै हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*