सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट भयो : देउवा
काठमाडौं । नेपाली कांग्रेसले सोमबारको देशव्यापी प्रदर्शनमा सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट भएको निष्कर्ष निकालेको छ ।
प्रदर्शनपछि सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा प्रदर्शनबाट पार्टीलाई नवीन ऊर्जा प्राप्त भएको भन्दै प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई दिएका छन् ।
‘आज मंसिर २९ गतेका लागि निर्धारित देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको छ,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ ।’
सभापति देउवाले आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको बताएका छन् ।
‘यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु ।’
विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पुर्याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु ।’