कांग्रेस मकवानपुरले सरकारविरुद्ध हजारौं कार्यकर्तासहित हेटौंडामा बिरोध प्रदर्सन गर्ने
हेटौंडा। नेपाली कांग्रेस मकवानपुरले कम्युनिष्ट सरकारले प्रस्तुत गरेको दमनकारी दुर्ब्यबहार, स्वास्थ्य सामग्री खरिदलगायतका विभिन्न भ्रष्टाचार काण्डहरुको विरोधमा यही मंसिर २९ गते हेटौंडामा हजारौं कार्यकर्ता सहितको बिरोध प्रर्दशन गर्ने भएको छ ।
कांग्रेस हेटौंडा उपमहानगरपालिका, तरुण विभाग, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले उपमहानगरको १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार मानिस हेटौंडामा उतारेर कम्युनिष्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बसेको नगर कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा जिल्ला कार्यसमितिका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापतिहरु, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा सभापतिहरु, वडा अध्यक्षहरु, स्थानीय तह निर्बाचनका उम्मेदवारहरु समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कांग्रेसको तरुण विभाग, भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि बुधबारै जिल्ला पार्टी कार्यालयमा बैठक राखी विरोध प्रदर्शनमा जिल्लाको १० वटै स्थानीय निकायबाट तरुण युवा र विद्यार्थीहरु हेटौंडामा हुने बृहत विरोध प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदलगायतका विभिन्न भ्रष्ट्राचार काण्डहरुको विरोधमा एकसाथ प्रर्दशन गर्ने निर्णय गरेको थियो ।