ओलीले प्रधानमन्त्री र अध्यक्षमा कुनै एक पद छाेड्नैपर्छ : देवेन्द्र पाैडेल
काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद छाेड्नैपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा बोल्दै पौडेलले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो ।
‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,’ पौडेलले भने । पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए । ‘पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,’ उनले भने ।
पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए ।
‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए ।
नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाई थियो । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए ।