आखिर देउवासँग किन रिसाए रामचन्द्र पौडेल ?

निरन्तर न्यूज
१९ मंसिर २०७७, शुक्रबार ०८:५०

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै गृहनगर दमौलीमा प्रहरीद्वारा लछारपछारमा परेपछि पार्टी सभापति शेरबहादुर देउवासँग रिसाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा बनेको पुल उद्घाटन गर्न जाँदा सत्ताधारी नेकपाका कार्यकर्ताले उनलाई अवरोध पुर्‍याएका थिए ।

२०४८ सालदेखि २०७० सम्म तनहुँबाट निर्वाचन जितेका पौडेलले आफैंले शुरु गरेको पुल निर्माण सम्पन्‍न भएको २ वर्षपछि उद्घाटन गर्न तनहुँ पुगेका थिए । पछिल्लो निर्वाचनमा पौडेल उक्त क्षेत्रबाट नेकपाका किसान श्रेष्ठसंग सांसदमा पराजित भएका थिए । नेकपा सांसद श्रेष्ठ केही समय अगाडी जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डमा आरोपित भएका थिए ।

आफ्नै गृहनगरमा आयोजित कार्यक्रममा पार्टी कार्यकर्तासँगै पुगेका पौडेललाई नेकपा सांसद श्रेष्ठकै निर्देशनमा नेकपा कार्यकर्ताले अवरोध गरेका थिए । त्यसलगत्तै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो । करिब ३ घण्टा प्रहरी नियन्त्रणमा रहेका पौडेल साँझ मात्रै छुटेका थिए । उनलाई प्रहरीले लछारपछार गर्दा ढाड र करङ्गमा असर पुगेको थियो । आफुमाथी सत्ताधारी नेकपाले त्यत्रो ज्यादती गर्दा पनि पार्टी सभापति देउवाले प्रतिवाद गर्न नसकेको भन्दै पौडेल आक्रोशित बनेका हुन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी ओलीसँगको सत्ता बाँडचुँड सम्बन्ध बिगार्न नचाहेको र पौडेलमाथि भएको अन्यायमा विज्ञप्ति जारी गरेर पन्छिएको पौडेलको आरोप छ । ‘सभापतिले चाहेको भए म ३ घण्टा होईन ३ मिनेटमा नियन्त्रण बाहिर हुन्थें’ पौडेलले निकटहरुसँग भने–‘शेरबहादुरजी केपी ओलीको मायाजाल र कम्युनिष्टको चक्रव्युहमा हुनुहुन्छ जस्तो लाग्‍न थाल्यो ।’

काँग्रेस वरिष्ठ नेता पौडेलले तनहुँ घट्नाबाट काँग्रेसले पाठ सिक्नुपर्ने भन्दै यो काँग्रेसमाथि होइन लोकतन्त्रमाथिको प्रहार र घेराबन्दी भएको टिप्पणी गरे । उनले केपी ओली हत्याको आरोपमा १४ वर्ष जेल बसेको तर आफु प्रजातन्त्र र लोकतन्त्रको लागि जेल बसेको समेत बताए ।

उनले अब लोकतन्त्र र काँग्रेसमाथि हुने कुनैपनि आक्रमण र ज्यादतीविरुद्ध लागिरहन काँग्रेस कार्यकर्तालाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*