दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स आइपिएलको फाइनलमा
काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफअन्तर्गत गएराति सम्पन्न पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सले सहज जीत हात पारेको छ । फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा उसले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्यो ।
मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । दिल्लीको सुरुवात नै राम्रो हुन सकेको थिएन । टिमको खाता नखुल्दै ३ ब्याट्सम्यान पेभेलियन फर्किसकेका थिए । त्यसपछि मार्कस स्टोइनोसले दिल्लीको इनिङ सम्हालेका थिए । उनले कठिन अवस्थामा पनि ६५ रनको योगदान दिए । त्यसैगरी अक्षर पटेलले पनि ४२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले सम्झनलायक प्रदर्शन गरेनन् । दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जसप्रीत बुमराहले ४ विकेट लिए ट्रेन्ट बोल्टले २ तथा क्रुनाल पान्ड्या र कायरन पोलार्डले १-१ विकेट हात पारे ।
यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । मुम्बईका इशान किशनले अविजित ५५ रन बनाए भने सुर्यकुमार यादवले ५१ तथा ओपनर क्विन्टन डिककले ४० रन बनाए । हार्दिक पान्ड्याले पनि अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै ३७ रनमा अविजित रहे । दिल्लीका रविचन्द्रन आश्विनले ३ तथा एनरिच नोर्त्जे र मार्कस स्टोइनिसले १-१ विकेट हात पारे ।
जीतसँगै मुम्बई सिधै फाइनलमा प्रवेश गरेको छ भने पराजित दिल्लीका लागि फाइनलमा पुग्ने अझै एक मौका रहेको छ । शुक्रबार हुने इलिमिनेटर खेलको विजेतासँग दिल्लीले प्रतिस्पर्धा गर्ने छ जसमा विजयी हुने टोली फाइनलमा पुग्ने छ ।
इलिमिनेटरमा बेलुका सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दै छन् । यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।