काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ मा बस्ने
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् । उक्त बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने पनि मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।
यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।