टिकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै, यस बर्ष टिका लगाउनेको चहलपहल पातलिदो
हेटौंडा । नेपाली हिन्दुहरुको महान चाड बडादशै अन्तर्गत आज टिकाको दोस्रो दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ ।
विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । यस पटक बिगत बर्षहरुमा जस्तो भिडभाड नभै टिका लगाउनेहरुको चहल पहल पातलिदो रहेको छ ।
यो टिकाको क्रम कोजाग्रत पूर्णिमासम्म जारीनै रहने गर्दछ । दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टिकाको दिन मात्र टीका लगाउने चलन छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्र पछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।
तर कोरोना भाइरसको महामारीको कारणले यस वर्षको बडादशैंमा भने चहलपहल कम देखिएको छ । मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् ।
कोरोना महामारीका कारण यस वर्षको दशैं विगतका वर्षमा जस्तो उल्लासपूर्ण हुनसकेको छैन । मानिसहरुको आवतजावत पातलिएको छ ।