सिद्धिदात्री देवीकाे पूजा आराधना गरि महानवमी मनाइदै
हेटाैँडा । बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ ।
सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन् ।देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान छन् । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन् ।
यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात छन् ।सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।
‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः’ देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गरेमा शुभ हुने धार्मिक विश्वास छ ।आजै दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।
तलेजु भवानी मन्दिर नखुल्ने
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उनले बताए । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।
वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो । तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने परम्परा छ ।