‘रअ’ का प्रमुख गोयल ८ घण्टाका लागि किन आए काठमाडौं ?
काठमाडौँ । भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल विशेष विमान मार्फत काठमाडौ आइपुगेका छन् । बुधबार दिउँसो १ बजे विशेष विमानबाट गोयल र ‘रअ’कै एक अर्का उच्च तहका अधिकारी काठमाडाैं अवतरणा गरेका हुन् ।
गाेएललाई लिन नेपालको अध्यागमन विभागका अधिकारी र सुरक्षाकर्मी विमानमै पुगेका थिए । उनले नेपालमा रहदाँ क कसलाई भेट्छन् भन्ने विषय गोप्य राखिएको छ । गोयल नेपालका राजनीतिक दल र सुरक्षा निकायका अधिकारीसँग भेटेर आजै राति ९ बजे भारत फर्कने छन् ।
नेपाल भारत सम्बन्धका एक विज्ञले गाेएल प्रधानमन्त्री केपी ओलीसँग समन्वय गरेर आएको हुन सक्ने आकंलन गरे । प्रधानमन्त्रीको स्वीकृति वा जानकारी विना त्यो तहका अधिकारीको नेपाल भ्रमण हुनै नसक्ने तर्क गर्दै श्रोतले समाचार दैनिकलाइ भन्यो, ‘या त उनी नेपाल भारतको चिसिएको सम्बन्धमा सुधारका लागि प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् वा संभावित भारतीय सेनापतिको नेपालभ्रमणको पूर्वसन्ध्यामा नेपालको सेनापति लगायतका उच्च अधिकारीलाई भेट्न आएका हुन्।’
नेपालको सत्ता राजनीतिमा भारतीय चलखेल र हस्तक्षेप प्रभावकारी हुने गरेको विगतका कारण पनि प्रमुख गोएलको अचानक भएको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ । श्राेत : समाचारदैनिक