वामदेव गौतमविरुद्धको मुद्दाकोे सुनुवाइ बुधबार हुने

निरन्तर न्यूज
१६ आश्विन २०७७, शुक्रबार १५:४२

काठमाडौं । सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाकोे सुनुवाइ बुधबारसम्मका लागि सरेको छ।

संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा तोकेर बुधबारका लागि सारिएको सर्वोच्च अदालतले जनाएको छ।
कानुन व्यवसायीका तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशसहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।

मुद्दामा १४ असोजमा सुनुवाइ सुरु भएको थियो। बहस नसकिएपछि आजका लागि सुनुवाइ सारिएको थियो। अब बुधवार मात्र उक्त मुद्दाको सुनुवाइ भएर टुंगो लाग्ने भएको छ।

प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्।

मनोनयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने भनि त्रिपाठीले रिट हालेका थिए।

रिटमा सुनुवाइ गर्दै ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*