नेकपा सचिवालय बैठक भोली बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार बस्ने गरी सचिवालयको बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बोलाउने समझदारी बनेको हो ।
शनिबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बिहीबार सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्र पुनः आन्तरिक असन्तुष्टि बढेको छ ।
प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा राजदूतहरु नियुक्तिका लागि सिफारिस गरेको भन्दै अन्य नेताहरुले विरोध जनाएका छन् ।
राजदूत नियुक्तिका विषयमा नेताहरुले जनाएको असन्तुष्टिका सम्बन्धमा छलफल गर्न अध्यक्ष प्रचण्ड शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।