अब नेकपा सचिवालयका नौ सदस्य नै सांसद

निरन्तर न्यूज
२ आश्विन २०७७, शुक्रबार १०:२०

काठमाडौं । वामदेव गौतम पनि राष्ट्रिय सभा सदस्य मनोनीत भएपछि नेकपा सचिवालयका नौ सदस्य नै सांसद बनेका छन् । तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक सातैजना सांसद थिए । सांसद नभएकैले गौतम र श्रेष्ठ पेलानमा पर्दै आएका थिए ।

गौतम बर्दिया र श्रेष्ठ गोरखाबाट प्रतिनिधिसभामा पराजित भएका थिए । सचिवालयका नौ सदस्यमध्ये गृहमन्त्री रामबहादुर थापा बादल पनि राष्ट्रिय सभा सदस्य हुन् । प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल र ईश्वर पोखरेल प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिनिधिसभामा हारे पनि विभिन्न आरोहअवरोहमार्फत तीन वर्षपछि श्रेष्ठ र गौतम पनि सांसद बन्न सफल भएका छन् । अब उनीहरूले मन्त्री बन्ने चाहना राखेका छन् ।

तर प्रतिनिधिसभामा पराजित भएको व्यक्ति संघीय संसदको सदस्य भएर धारा ७६ (९) अनुसारको योग्यता पूरा गरे पनि मन्त्री बन्न मिल्छ कि मिल्दैन भन्ने विषयमा भने कानुनविद्हरुको राय बाझेको छ । कतिपयले संसदको सदस्य नै मन्त्रीका लागि योग्यता हो भनेका छन् भने कतिपयले नैतिककताको विषय हो भनेका छन् । संविधानविद भीमार्जुन आचार्यले भने पराजित भएको व्यक्ति राष्ट्रियसभामा गए पनि संविधानको भावना र जनमतको म्याण्डेटअनुसार मन्त्री बन्न नमिल्ने बताएका छन् ।

नेकपाका नेता, कानुविद् एवं पूर्वसभामुख सुवास नम्बाङले बिहीबार नै राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति त्यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने यस्ता थुप्रै व्यवस्था संविधानमा राखिएको छ ।

कहीँंकतै कमीकमजोरी रहेछन् भने आउने दिनमा हुन नदिनेतर्फ सचेत हुनुपर्छ । राम्रा कुरालाई सबल बनाएर लिएर जानुपर्छ’ भनेका छन् । उनको अन्तरवार्ता गौतमले सपथ लिरहेको बेला सार्वजनिक भएको थियो ।श्रोत क्यानाडानेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*