जन्मदिनमा मन्त्री भट्टराईले दिए मुस्कानलाई ५० हजार

निरन्तर न्यूज
२१ भाद्र २०७७, आईतवार १४:२६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पिडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका हुन्।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले भने–‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोली डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’ उनले एसिड पिडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताए ।

गत वर्ष भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका छन् । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गरेका मन्त्री भट्टराइले ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बसेका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाएका थिए ।

०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पिडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए । ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरेका थिए । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*