विप्लव माओवादी मकवानपुरका सयाैँ जनाले पार्टी छाडे, अब स्वतन्त्र जीवन बिताउने
हेटौंडा । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका अधिकांश नेतृत्वले पार्टी छाडेका छन् । विप्लव नेतृत्व नेकपाका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी ‘पासाङ’सहित एक सय ३८ जना नेता तथा कार्यकर्ताले सामूहिक पार्टी परित्याग गरेका हुन् । मकवानपुरको उत्तरी क्षेत्रस्थित भीमफेदी गाउँपालिका–९ को बसीफाँट माविमा आज शुक्रबार आयोजित कार्यक्रममा सबैले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टीभित्र नेतृत्वको अन्तरविरोध, कार्यकर्ता संरक्षण गर्न नसक्नु र तीव्र असन्तुष्टिले नेकपामा रहिरहनु नसकेको भन्दै उनीहरूले परित्याग गरेका छन् । जिल्ला सेक्रेटरी पासाङसहित, सैन्य ब्यूरो सदस्य बिमल थिङ, राज्य सदस्य रेखा थापा मगर, जिल्ला सदस्य सन्दीप ढुंगाना, अमर रुम्बा, जुरे घिसिङ, नेत्र गौतमलगायतले पार्टी परित्याग गरेका हुन् ।
कार्यक्रमको संयोजन पार्टीका पूर्व जिल्ला इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ले गरेका थिए । उनले करिब ८ महिनाअघि नै पार्टी परित्याग गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्वालालाई ३ पटक पक्राउ गरी मुद्दा चलाएको थियो । पार्टीले कार्यकर्ता संरक्षण गर्न नसक्दा र नेतृत्वको अन्तरविरोधको कारण ठूलो संख्यामा नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नुपर्ने अवस्था आएको बताए ।
पार्टी परित्याग गर्दै एक सय ३८ जनाले स्वतन्त्र जीवन बिताउने बताएका छन् । मकवानपुरमा यसअघि करिब २२ जना नेता तथा कार्यकर्ताले पार्टी छोडिसकेका छन् । सरकारले २८ फागुन २०७५ मा विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।