मन्त्रीहरुलाई प्रधानमन्त्री भने : ‘तपाईहरुलाई कोरोना संक्रमण भयो भन्ने समाचार सुन्न नपरोस’
काठमाडौं । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोना संक्रमणबाट जोगिँदै काम गर्न निर्देशन दिएका छन् । उनले भारतमा गृहमन्त्री अमित शाहलाई संक्रमण भएर अस्पताल भर्ना भएको स्मरण गराउँदै विशेष सावधानी अपनाएर काम गर्न निर्देशन दिएका हुन् ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले ‘कोही पनि मन्त्री संक्रमित भएको समाचार सुन्न नपरोस’ भन्ने आशयको अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले आ-आफ्नो ठाउँमा बसेर विशेष सावधानी अपनाउँदै कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नुपनि निर्देशन दिएका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमण ह्वात्तै बढेको छ। संक्रमण दर बढेपछि काठमाडौं उपत्यकामा यही भदौ १७ गतेसम्म निषेधाज्ञा गरिएको छ । त्यस्तै, हिजो बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन भदौ मसान्तसम्म सञ्चालन नगर्ने र आन्तरिक हवाई उडान सेवा पनि भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । श्रोत रिपोर्टर्स नेपाल