कोरोना सङ्क्रमणका कारण नेकपाका नेताको मृत्यु

निरन्तर न्यूज
१५ भाद्र २०७७, सोमबार १४:४०

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनि श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा सोमबार विहान उनको निधन भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ७८ वर्षीय उनमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनि ज्येष्ठ कम्युनिष्ठ मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् ।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन् । उनि विसं २०२४ मा बसाइँसराइ गरी चितवन झरेका थिए । भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*