उपप्रधानमन्त्री सहित तीन जना मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं, । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कर्माचारीलाई कोरोना संक्रमण देखिएपछि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका थिए ।
छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो ।
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले शनिबार बस्ने भनिएको सचिवालय बैठक समेत स्थगित गरिएको थियो । नेकपा सचिवालय बैठक अब भदौ १८ गते बस्दै छ ।
यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । तीन जना मन्त्रीसँगै प्रधानसेनापति थापा पनि होम क्वारेन्टाइनमा बसेका थिए ।