कृष्णबहादुर महरा निकटलाई कांग्रेसको विभागीय सचिवमा नियुक्ति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि आन्तरिक विवादमा फसेका छन् । महाधिवेशन भएको ६ महिना भित्रि सबै विभागमा पदपूर्ति गरिसक्नु पर्ने भए पनि अर्को महाधिवेशनको पूर्वसन्ध्यामा विभागमा पदपूर्ति गर्नेदेखि क्रियाशील सदस्य नै नरहेकालाई नियुक्ति दिने लगायतका कार्यले सभापति देउवालाई आलोचित बनाएको छ ।
क्रियाशील सदस्यता नलिएकालाई नै विभागीय सचिवमा नियुक्ति दिएपछि सभापति देउवा विवादमा परेका हुन् । त्यसमाथि नेकपाका नेता कृष्णबहादुर महरानिकटका नेतालाई सुरेन्द्र भण्डारीलाई कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि सभापति देउवाको विरोध भएको हो ।
सभापति देउवाले साउन २५ गते भण्डारीलाई विभागको सचिव बनाएका हुन् । केन्द्रीय सदस्य एवम् पूर्वसांसद आनन्दप्रसाद ढुंगाना संयोजक रहेको सो विभागको सचिवमा मनोनित भण्डारी ललितपुरको पुल्चोकमा लालिगुराँस सहकारी चलाउँदै आएका छन् ।
उपसभापति विमलेन्द्र निधि निकट मानिने ढुंगानाको सिफारिसमा देउवाले उनलाई वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेका हुन् ।
विभागमा मनोनित हुन क्रियाशील सदस्य रहनुपर्ने व्यवस्थालाई देउवा र निधिले लत्याएर गोरखा जिल्ला स्थायी घर भएका भण्डारी सचिवमा मनोनित गरिएको भन्दै पार्टीभित्रबाट विरोध भइरहेको छ ।
भण्डारीलाई मनोनित गरिएपछि केही नेता कार्यकर्ताहरुले देउवाको साथ छाड्न थालेका छन् ।उनै भण्डारीले दिएको गाडीसमेत ढुंगाना चढ्ने गरेको चर्चाले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । श्रोत क्यानाडानेपाल