विमान रित्तै फर्काएपछि सरकारले पुनः निर्णय फेर्यो
काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुरु गर्ने भएको छ ।
विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड समेत बनाएको छ । यसअघि कतारबाट रित्तो जहाज फर्काएपछि सरकारको चौतर्फी विरोध भएको थियो ।
गैरजिम्मेवार निर्णय लिएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराई र रक्षामन्त्री ईश्वर पोखरेलबीच भनाभन भएको खबर समेत बाहिरिएको थियो ।
अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ ।
यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयम्ले व्यहोर्नुपर्ने छ । विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूतावासले तोकेबमोजिम हुनेछ ।
एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एकजना मन्त्रीले जानकारी दिए । यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर उडान सुरु हुनेछ ।
यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो । मन्त्रीपरिषद्को निर्णयसँगै उद्धार उडान शुक्रबारदेखि सुरु हुनेछ ।
त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको छ । होटल खर्च व्यक्ति आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।