कोरोना रोकथामका लागि सीडीओलाई अधिकार (मन्त्रिपरिषद् बैठकका निर्णयहरु हेर्नुहोस्)

निरन्तर न्यूज
२ भाद्र २०७७, मंगलवार १८:५४

मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुलाई विभिन्न अख्तियारी दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीडीओको नेतृत्वमा रहने ‘जिल्ला कोरोना संकट समिति’लाई जोखिम विश्लेषण गरी संक्रामक रोग ऐन २० अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निशेधाज्ञा जारी गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ ।

ती स्थानमा रहेका कार्यालयमा न्यूनतम कर्मचारी र अन्य कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्न निर्देशन सरकारले दिएको छ । यातायात, सिमानामा आवतजावत, गोष्ठी, सेमिनार, जात्रा, पर्व जस्ता गतिविधि नगर्न यसअघिका निर्देशनलाई पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । सुरक्षा मापदण्ड पालना नगरेमा र स्वास्थ्य सर्तकता नअपनाएमा प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मंगलबारको प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।

यस्तै प्राकृतिक प्रकोप बाढी पहिरोबाट सिन्धुपाल्चोक कालीकोट लगायतका क्षेत्रम ठूलो जनधनको क्षति भएकोमा प्रभावित परिवारका मृतक १ जना भए २ लाख, सोही परिवारमा थप अन्यको निधन भएमा थप एक लाख राहत दिने निर्णय गरेको छ । घाइतेको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको छ ।

यस्तै घर, पसल क्षति भएका ५ जनासम्म परिवार भए १५ हजार, सो भन्दा बढी भए तत्काल २० हजार राहत दिने निर्णय भएको छ ।
घर नष्ट भए वा नयाँ घर बनाउनुपर्ने भएमा १ लाख सहयोग, घाइतेलाई उपचार खर्च र घर जानका लागि १ हजार यातायात खर्च दिने र क्षति भएको घर बनाउनका लागि सहुलियत दरमा काठ दिने निर्णय पनि भएको छ ।
असुरक्षित र विकट क्षेत्रमा रहेका बस्ती भएका ठाउँमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न शहरी विकास मन्त्रालय र पुर्ननिर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।
यस्तै बैठकले विद्युत विकास र वितरण प्रणाली विकासका लागि एसियाली विकास बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण २४ अर्ब, नर्वे सरकारबाट प्राप्त ४ अर्ब ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाल र सदस्यमा पूर्व सहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी बैठकले बेल्जियम र यूरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जमर्नीका लागि रामकाजी खड्का राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
समाजकल्याण परिषदको रिक्त कोषाध्यक्ष पदमा इलामका लोकनाथ सुवेदीलाई मनोनित गर्ने निर्णय भएको छ भने खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्मा यो आर्थिक वर्षका लागि १५ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

युवा स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोकालाई नियुक्त गर्ने निर्णय पनि भएको छ । यस्तै प्रेस काउसन्सल सदस्य दुर्गा भण्डारी पौडेललाई काउन्सिलको कावा अध्यक्ष तोक्ने निर्णय भएको छ ।
यस्तै लोक सेवा आयोगबाट सिफारिस भएका ५ जना डाक्टरहरुलाई स्वास्थ्य सेवाको ११ औँ तहमा बढुवा गर्ने निर्णय समेत भएको खतिवडाले बताए । श्राेत : राताेपाटी

मन्त्रिपरिषद्को निर्णय- २०७७ भदौ १

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*