नेकपा विवाद : सांसदको टाउको गनेर पार्टी फुटाउने सपना नदेख्न नेतृत्वलाई चेतावनी
काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद अन्त्य गरेर पार्टी एकता सुदृढ बनाउन ६१ जना सांसद एक ठाउँमा उभिएका छन्।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकै सांसदहरु एकताका पक्षमा उभिएका हुन्।
नेतृत्वलाई पार्टी विभाजन हुनबाट रोक्न सांसदहरुले हस्ताक्षर सार्वजनिक गरेका छन्।
उनीहरूले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर पार्टी एकताका पक्षमा ३ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले टाउको गनेर कसैले पार्टी विभाजनको सपना देखेको छ भने त्यो पूरा नहुने बताए।
‘सांसदहरुको टाउको गनेर कसैले पार्टी विभाजनको सपना देखेको छ भने त्यो पूरा हुन नदिने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हामी पक्ष–विपक्षमा बोल्दैनौं। पार्टी एकताका पक्षमा मात्रै बोल्छौं। हामी तीनवटै नेताकहाँ जाँदैनां, उहाँहरूलाई हामीकहाँ आउने बनाउँछौं।’
आफूहरु पार्टी एकताको कित्तामा मात्रै रहेको भन्दै उनले कसैले पनि आफ्नो कित्तामा राखेर गणना नगर्न चेतावनी दिए।
सांसद रामकुमारी झाँक्रीले पार्टी वैचारिक रूपमा स्खलित भएको बताइन्। ‘पार्टीको नीति, कार्यक्रम र व्यवहार दक्षिणपन्थी बाटोमा लागेको छ’, उनले भनिन्, ‘विचारका हिसाबले हामी स्खलित भएका छौं, नीति, कार्यक्रम र व्यवहार हेर्दा पार्टी दक्षिणपन्थी बाटोमा जान लागेको त होइन भन्ने शंका लागेको छ।’
एउटा समूह पार्टी फुटाउने अभियानमा लागेको भन्दै झाँक्रीले त्यस्तो दुस्साहस नगर्न नेताहरूलाई आग्रह गरिन्।
सांसद विशाल भट्टराईले निर्वाचित सांसद किन चुप लागेर बस्ने भनेर अभियान थालिएको बताए। ‘अहिले हस्ताक्षर मात्रै सार्वजनिक गरेका हौं,’ उनले भने, ‘भोलि दबाब दिन नेताहरुका निवास, पार्टी कार्यालयमा धर्ना लगायतका कार्यक्रम पनि गर्छौं।’
कोभिड–१९ को संक्रमण, बाढीपहिरोलगायतका थुप्रै समस्या देशमा भइरहेका बेला नेतृत्व सत्ताको झगडामा अल्झिएको उनको आरोप छ।
‘अहिले कुनै सैद्धान्तिक र वैचारिक लडाइँ छैन। पदको लडाइँ जस्तो देखिएको छ,’ उनले भने, ‘नेताहरुको यस्तो शैलीले जनमत मात्र बिग्रँदैन प्रणालीमा नै असर पर्न सक्छ। उपलब्धि गुम्ने खतरा हुन सक्ने देखिन्छ।’
अर्का सांसद गणेशकुमार पहरीले नेकपालाई जनताले अमूल्य मत दिएर विजय गराए पनि अहिले निराशा दिने काम मात्रै भइरहेको बताए।
‘पार्टीभित्र देखिएको विवादले जनता र कार्यकर्तामा निराशा छाएको छ,’ उनले भने, ‘हामी सांसदहरुले अहिलेको घडीमा पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भनेरै दबाब थालेका हौं।’
नेतृत्वले निकास दिन नसके हस्तक्षेपकारी भूमिका पनि खेलिने उनको भनाइ छ।
सांसद नारदमुनि रानाले पार्टी टुक्र्याएर जाने काम कोही कसैबाट भएमा आफूहरुले साथ नदिने बताए।
‘महाधिवेशन नहुँदासम्म सहमतिमा जाने भन्ने विषयमा नेतृत्वको ध्यान किन गइरहेको छैनरु’ उनले भने, ‘नेताहरुको झगडाले प्रत्यक्ष रुपमा जनतासँग जोडिएका हामी सांसदहरुले असहज महसुस गर्नुपरिरहेको छ।’
उनले पार्टी एकता बलियो बनाउने बाहेकका कुनै पनि गतिविधिमा आफूहरुको साथ नरहने प्रस्ट पारे।
सांसद जीवनराम श्रेष्ठले जनताले दिएको म्यान्डेटको विश्वासघात गर्ने काम नेतृत्व तहबाट भइरहेको भन्दै पार्टी एकता मजबुत बनाउन दबाब सुरु गरिएको बताए।
‘पार्टीभित्र देखिएको विवादले मुलुकलाई नै असर गर्छ त्यसतर्फ ध्यान दिनुपर्छ भनेरै हामीले दबाब दिनका लागि सांसदहरु सबै एक ठाउँमा आउने प्रयास गरिरहेका छौं,’ उनले भने।
पद्धतिभन्दा बाहिर गएर समस्या समाधान हुन नसक्ने उनको भनाइ छ।
अर्का सांसद यज्ञ सुनारले नेकपाका नेता कार्यकर्ताहरु पार्टी एकताको पक्षमा रहेको भन्दै विभाजनको कित्तामा आफूहरु नजाने बताए।
सांसद राजबहादुर बुढाले कोही पनि विभाजनका पक्षमा नभएको भन्दै नेतृत्वले जनताले नेकपालाई दिएको जनमतको कदर गर्नुपर्ने धारणा राखे।श्रोत नेपाल समय