नेकपा संकटमा छ, सामान्य स्थितिमा छैन : प्रचण्ड

निरन्तर न्यूज
९ श्रावण २०७७, शुक्रबार १७:४७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेकपा संकटमा रहेको र सामान्य स्थितिमा नभएको स्पष्ट पारेका छन् ।

पार्टीभित्र देखिएको गुटगत गतिविधि र विचारहरुले पार्टीलाई संकटतर्फ धकेलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टी संकटमा रहे पनि विभाजन हुनबाट जोगाउन अन्तिमसम्म प्रयास गरिरहने बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विभाजन हुन नदिएर एकताबद्ध राख्ने प्रतिवद्धता जनाएका हुन् ।

केहि दिनअघि नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले ‘जवज’ स्वीकार गरे महाधिवेशनपछि एकल अध्यक्ष दिन सकिने अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टीको एउटा पक्षले जनताको बहुदलीय जनवाद र अर्को पक्षले एक्काइशौं शताब्दीको जनवाद भन्न थाल्ने हो भने त्यो पार्टी एकता विपरित हुने बताए ।

तत्कालीन नेकपा–एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता गर्दा एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइशौं शताब्दीको जनवादको सट्टा जनताको जनवाद एकीकृत पार्टीको राजनीतिक कार्यदिशा तय गरिएको समेत उनले स्मरण गराए ।

‘हामीले राजनीतिक कार्यदिशाको रुपमा समाजवादउन्मुख जनताको जनवाद भन्यौं, तर अहिले फेरि पछाडि फर्कन खोजेको देखिन्छ,’ उनले थपे, ‘अहिले फेरि कसैले माओवाद जिन्दावाद वा कसैले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्यो भने पार्टी विभाजनतर्फ गएको देखिन्छ ।’

उनले जबजलाई आफूहरुले निषेध नगरेको प्रष्ट्याउँदै त्यसको उच्च सम्मान गरेको र गरिरहने समेत बताए । तर जनताको जनवादको बाटो छोडेर माओवाद वा एक्काइशौं शताब्दी जिन्दावाद वा जबज जिन्दावाद भन्न थाले एकताको भावना विपरित हुने बताउँदै उनले भने, ‘अहिले पार्टीको कुनै पक्षले कसैको पक्ष र विपक्षमा जुलुस निकाल्न हुँदैन । तर, तर जुलुसहरु निस्केको देखेका छौं ।’
पार्टीमा विचार र बिधिमा बैज्ञानिक एकरुपता कायम हुनुपर्ने र त्यसका लागि प्रयास जारी राखिएको प्रचण्डले बताएका छन् ।

‘पार्टी विभाजन हुन दिइने छैन र एकताबद्ध राखिने छ’, उनले भने । उनले नेकपालाई व्यक्ति केन्द्रीत नभई विचार केन्द्रीत पार्टी बनाउने दावी पनि गरे । ‘पार्टीलाई विचार केन्द्रीत बनाइनेछ र विधि र पद्धतिमा चलाइने पार्टी बनाइनेछ । यो बहसको यो अन्तिम निष्कर्ष पार्टीमा विचार पनि स्पस्ट भएर आउने छ र विधिलाई पालना गर्ने कुरालाई जन्म दिनेछ’ प्रचण्डले भने ।

उनले पार्टीको विचार नै सर्वेसर्वा हुने भन्दै कम्युनिष्ट पार्टीमा त्यही विचारका आधारमा सामुहिक नेतृत्व प्रणालीको विकास गरिने बताए । ‘पार्टी भनेको विचार र विधि हो । विचार र विधि पद्धति नै पार्टी हो । यसमा एकरुपता कायम गर्नुपर्छ । यहि प्रयास हामीले गर्नुपर्छ’, उनले भने ।श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*