कुन कुन क्षेत्र कहिले कहिले खुल्ने ?
काठमाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार एवम् सूचना प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।
यातायात व्यवसायीले साउन ८ गतेदेखि नै लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेको भए पनि सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।
त्यसैगरी साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । हाल होटलहरु बन्द नै रहेका छन् भने रेष्टुरेन्टहरुमा प्याकिङको सुविधा मात्र दिने अनुमति छ । यद्यपि सामूहिक भोजभतेर एवम् पार्टीजस्ता गतिविधि गर्न भने नपाइने मन्त्री खतिवडाले जनाए ।
हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राख्दै सरकारले ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने बताएको छ । त्यसैगरी भदौ एकदेखि विद्यार्थी भर्ना प्रक्रिया एवम् परीक्षाका गतिविधहरु सञ्चालन गर्न पाइनेछ ।
सरकारले १२० दिन लामो लकडाउन मंगलबार मध्यरातिदेखि सकिने घोषणा गरेको छ । यद्यपि केही क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडियाखाना अझै खुल्ने छैनन् ।