मेसीले करियरको जिते सातौं पिचिची अवार्ड
काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् बार्सिलोनाका फरवार्ड लियोनेल मेसीले करियरको सातौं पिचिची अवार्ड जितेका छन् । यस सिजनको लालिगामा मेसीले सर्वाधिक २५ गोल गरेपछि उक्त अवार्ड मेसीलाई प्रदान गरिएको हो । दोस्रो स्थानका करिम बेन्जेमाले सिजनमा २१ गोल गरेका छन् ।
पिचिची अवार्ड हरेक सिजनको लालिगामा उच्च गोलकर्तालाई दिइँदै आएको छ । स्पेनिस पत्रिका मार्साले उक्त अवार्ड प्रदान गर्ने गर्दछ । एट्लेटिको बिल्बाओका पूर्व खेलाडी राफायल मोरेनाको सम्झनामा उक्त अवार्ड प्रदान गरिँदै आएको छ । मेसीले यसअघि सन् २०१०, २०१२, २०१३, २०१७, २०१८, २०१९ मा पनि उक्त अवार्ड जितिसकेका छन् ।
यसैबीच मेसीले अर्को रेकर्ड पनि आफ्नो नाममा कायम गरेका छन् । उनले लालिगाको एकै सिजनमा सर्वाधिक एसिस्टको रेकर्ड आफ्नो नाममा गरेका हुन् । यसअघि जाभी हर्नान्डेजले एक सिजनमा सर्वाधिक २० एसिस्टका साथ यस रेकर्ड आफ्नो नाममा गरेका थिए ।
गएरातिको खेलमा मेसीले अन्सु फाटीको गोलमा एसिस्ट गरेपछि उनले जाभीलाई पछि पार्दै २१ एसिस्टका साथ सो रेकर्ड आफ्नो नाम गरे । सो खेलमा बार्सिलोना ५-० ले विजयी भएको थियो । यद्यपि बार्सिलोना यस सिजन उपविजेतामा सीमित भएको छ ।
यस्तै मेसीले एकै सिजनमा २० वा त्योभन्दा बढी गोल र एसिस्ट दुवै गर्ने रेकर्ड पनि केही दिनअघि आफ्नो नाममा गरेका थिए ।