विश्वमा कोरोना सङ्क्रमितमध्ये ८४ लाख भन्दाबढी निको भए
काठमाण्डाैँ । विश्वमा कोरोना सङ्क्रमितमध्ये ८४ लाख ५५ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ४१ लाख ८९ हजार २ सय २३ जना सङ्क्रमण पुष्टि भएकामा ८४ लाख ५५ हजार २ सय ६ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण ५ लाख ९९ हजार ३ सय ४१ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५१ लाख ३४ हजार ६ सय ७६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ६० हजार १ सय ३६ जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३७ लाख ७० हजार भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये १७ लाख ४१ हजारबढी निको भएका छन् भने १ लाख ४२ हजार भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २० लाख ४८ हजार ६ सय ७९ पुगेको छ भने ७७ हजार ९ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १३ लाख ६६ हजार ७ सयभन्दा बढी निको भएका छन् ।
यस्तै, भारतमा शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा हालसम्म १० लाख ४० हजार ४ सय ५७ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।
अहिलेसम्म संक्रमितमध्ये ६ लाख ५४ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ६० हजार ९४ जनाको उपचार भइरहेको छ । कोरोनाकै कारण भारतमा ज्यान गुमाउनेको २६ हजार २ सय ८५ पुगेको छ ।