आधारहिन समाचार प्रशारण गरेकाे भन्दै माउन्टेन टीभीलाई कारवाही गर्न समाजवादी युवा संघकाे माग
काठमाडाैँ । माउन्टेन टेलिभिजनबाट प्रशारित एक रिपाेर्टमा पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईप्रति लक्षित दुरासयपूर्ण समाचारको समाजवादी युवा संघले घोर भत्सना गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै गत असार ३१ गते माउन्टेन टेलिभिजनद्वारा प्रशारित समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक उनको मन्त्रीमण्डल, प्रम ओलीका सहकर्मी नेताहरु, देशमा विद्दमान राजनीतिक दलहरु, प्रशासक कर्मचारी र नागरिक समाज भारतीय स्वार्थमा भारतका लागि काम गरिरहेको र यी सबैको नेतृत्व पूर्व प्रधानमन्त्री डाक्टर भट्टराइले गरिरहेको निराधार कपोलकल्पित आरोप लगाएर अमुक नेता बाहेक सारा देश भारतका लागि काम गरिरहेको भ्रामक र प्रायोजित समाचार प्रशारण गरेर देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमतता र राष्ट्रिय एकतामा गम्भिर चोट पुर्याउने अपराधिक कार्य गरेको समाजवादी युवा संघको ठहर छ ।
पत्रकारीताकाे मूल मर्म सिद्धान्त र संवेदनशिलतालाई लत्याउँदै तथ्य, प्रमाण र आधारहिन समाचार प्रशारण गरेर देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमसत्तामा, राष्ट्रिय एकतामा गम्भिर चोट पुर्याएको, जनतामा भ्रम र अपवाह फैलाएको तथा डाक्टर भट्टराईको मानहानी गरेको हुदा माउन्टेन टेलिभिजनलाई तत्काल कारवाही गर्न सरकार तथा प्रेस काउन्सिल नेपाल समक्ष जोडदार माग गरेको छ ।