विश्वका केही चर्चित व्यक्ति तथा कम्पनीको ट्विटर खाता ह्याक

निरन्तर न्यूज
१ श्रावण २०७७, बिहीबार १३:०७

एजेन्सी । विश्वका चर्चित व्यक्तिहरू तथा कम्पनीको ट्विटर खाता ह्याक भएको छ। बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका हुन् ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत व्यक्तिका ट्वीटर खाता ह्याक भएका हुन् ।

उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन्।

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

“मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,” बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, “१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।”

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन। ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*