बागमती प्रदेश काँग्रेस संसदीय दलद्वारा बाढिपहीराे प्रभावितलाई सहयाेग
हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावित तथा पिडितलाई ५ लाख रुपैंया सहयोग गरेको छ ।
बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँकाे टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर भोटेकोशी गाउँपालिकाका ८० घरवारविहिन परिवारलाई राहत रकम नगद वितरण गरेको हो ।
कांग्रेसले प्रतिपरिवार ५ हजार रुपैंयाका दरले ४ लाख रुपैंया प्रभावित क्षेत्रमा वितरण गरेको हाे । त्यस्तै, काठमाडौंको ह्याम्स अस्पताल पुगेर ३ जना मृतकका परिवारलाई जनही नगद १० हजार रुपैंयाका दरले र ७ जना घाइतेलाई पनि जनही १० हजार रुपैंयाका दरले १ लाख रुपैंया वितरण गरेको संसदीय दलका सचिव निमा लामाले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकका सांसद लामासहितले राहत वितरण गरेका थिए ।