चौरजहारी घटनाको उद्गम जातीय भेदभाव रहेकाे संसदीय छानबिन समितिको निष्कर्ष
काठमाडौं । सांसद देवेन्द्र पौडेल नेतृत्वको संसदीय छानबिन समितिले रुकुम पश्चिमको चौरजहारीमा ६ जना मारिएको घटनामा जातीय भेदभाव र छुवाछुत नै प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ ।
उक्त समितिले संसदीय समितिले सोही निष्कर्षसहितको प्रतिवेदन मंगलबार अपराह्न सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ ।
समितिले उक्त घटनाको बारेमा छानबिनको क्रममा पीडित परिवार, गोताखोर, स्थानीयसँग बुझिएकाे स्पष्ट पारे । प्रतिवेदन बुझाउनेक्रममा संक्षिप्त भिडियो सार्वजनिक गर्दै उनले उक्त घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको ठहर गरेको समितिको निष्कर्ष सुनाए ।
रुकुम पश्चिम सोतीमा गत १० जेठमा घटित दुःखद घटना हुनुको प्रमुख कारण जातीय भेदभाव तथा छुवाछुत भएको प्रतिवेदनको निष्कर्ष खण्डमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा रुकुम चौरजहारी सोती घटना घट्नुपूर्व, घटना घटेको समय र घटनापश्चात् अपनाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रियामा अपर्याप्तता एवं त्रुटि देखिएको निष्कर्ष प्रस्तुत गरिएको छ । समितिले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने सिफारिस पनि गरेको छ ।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
सभामुख सापकोटाले विषम परिस्थितिमा पनि निर्धारित समयभित्रै कार्य सम्पन्न गरि प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद ज्ञापन गरे । उनले यसलाई अध्ययन गर्ने र अघि बढाउन ढिला नगर्ने बताए ।