कक्षा ११ मा पनि परीक्षाबिनै आन्तरिक मूल्यांकन गरिने
काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको छ । परिषद्का अनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइनेछ ।
शुक्रबार शिक्षा मन्त्री अध्यक्ष रहने परिषद्ले उक्त निर्णय गरेको हो । यसअघि एसईई परीक्षामा पनि यही विधि अपनाइएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्कनका मापदण्डबारे कार्यविधि बनाउने जिम्मेवारी पाएको छ । परीक्षा बोर्डले सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा कोरोना महामारीका कारण प्रभावित छ ।
बोर्डले बनाउने कार्यविधिअनुसार सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्न सक्नेछन् । यसअघि एसईई पनि यही विधि अपनाइएको थियो । जसमा आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था छ ।