प्रचण्ड-नेपालले सरकार ढाल्ने, ओलीले पार्टी ढाल्ने !

निरन्तर न्यूज
१९ असार २०७७, शुक्रबार ०८:४३

काठमाडौं । दुई तिहाई नजिक रहेको नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न खोजिएको भन्दै सडकमा प्रदर्शन शुरु भएको छ । पार्टी भित्रको विवाद सतहमा आएपछि एक्कासी प्रधानमन्त्री ओली आक्रामक बनेका छन् ।

विहीवार मात्रै आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गराएका ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने हुन् की भन्ने अड्कलबाजी गरिएको छ । प्रधानमन्त्रीको कार्यशैली बेठीक भएको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेत शिर्ष नेताहरुको छुट्टै भेलाले उनको राजीनामा माग्ने निर्णय गरेको थियो । ओलीको राजीनामा मागिएकोप्रती असन्तुष्टि जनाउँदै उनका समर्थकले जुलु्स निकालेर ओली हटाउन पाईंदैन भनिरहेका छन् ।

माईतीघर मण्डलामा हुने प्रदर्शनलाई सरकार विरोधीको झुण्ड भनेर टिप्पणी गर्ने प्रधानमन्त्री ओली नै अहिले आफ्नै समर्थनमा युवालाई माईतीघर मण्डला पठाईरहेका छन् ।

ओलीको फोटोसहितको ब्यानर बोकेर भारत र प्रचण्डको विरोध गर्दै ओली समर्थकहरु माईतीघर पुगेपछि पार्टीमा झन् ठुलो तरङ्ग पैदा भएको भन्दै नेकपाका एक नेता भन्छन्, ‘अब सरकारको कुरा मात्रै होईन, पार्टी नै एक रहने अवस्था करीब अन्त्य भैसक्यो ।’

भारतीयको योजनामा प्रधानमन्त्री ओलीलाई हटाउन खोजिएको भन्दै ओली समर्थक उत्तेजित बनेका छन् । उनीहरुले फेसबुक र ट्वीटरमा प्रचण्ड र माधवकुमार नेपालको आलोचना समेत गरेका छन् । केहि नेताहरुले सरकार ढाल्न र पार्टी फुटाउन ओली आफैं कस्सिएको आरोप पनि लगाएका छन् ।

यतिबेला प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायत नेताहरु ओलीको विरुद्धमा छन् । पार्टी विवाद र प्रधानमन्त्रीको राजीनामाबारे नेकपाका अर्का नेता भन्छन्, ‘पार्टीमा यस्तो सलह पस्यो की एक हप्तामा पुरै स्वाहा बनायो, अब पलाउने आशा कमै देखिन्छ ।’

नेकपाका नेता जस्तै कार्यकर्तापनि दुई समूहमा विभाजित छन् । एकाथरीले प्रचण्डले सरकार ढाल्न खोजेको भनेका छन् भने अर्काथरीले ओली आफैंले सरकार ढालेर अगाडी बढ्न खोजेको आरोप लगाएका छन् ।

‘यतिबेला सरकार की प्रचण्डले ढाल्ने हो की ओलीले,’ एक नेता भन्छन्, ‘विपक्षीको त ताकत पनि छैन र सरकार ढाल्न लागेको पनि देखिन्न ।’

सामाजिक सञ्जालमा कतिपय नेता कार्यकर्ताहरुले ओलीले पार्टी ढाल्ने र प्रचण्डले सरकार ढाल्ने कामको नेतृत्व गरिरहेको भन्दै इतिहासले नेताद्वयलाई माफ नगर्ने टिप्पणी गरेका छन् ।

यो अवस्थामा प्रचण्ड वा ओली जसले सरकार ढाल्न खोजेपनि कारबाही गरिनुपर्ने माग पनि नेकपामा उठेको छ । ‘आफ्नै सरकार ढाल्न खोज्ने जनताका दुश्मन र पार्टीभित्रका गद्दार हुन्,’ नेकपाका एक कार्यकर्ता भन्छन्, ‘पार्टीमा हाम्रो पनि रगत, पसिना बगेको छ अब सहेर बसिन्नँ ।’ साझापाेष्टबाट साभार गरिएकाे खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*