झलनाथले झोक्किँदै भने- नक्सा पास गर्न नमान्ने तपाईं होइन, ठूला कुरा गर्ने ?

निरन्तर न्यूज
१७ असार २०७७, बुधबार १०:३६

काठमाडौै । मंगलबार नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई मंगल रहेन । बैठकमा बोल्ने १८ मध्ये १७ जनाले त राजीनामा नै मागे ।

त्यहीक्रममा हो झलनाथ खनाल झोक्किएका । आफूलाई नक्सा सार्वजनिक गरेको कारण हटाउन लागिएको तर्क गर्ने ओलीलाई झलनाथले झर्किंदै जवाफ फर्काए ।

आइतबार ओलीले दिएको विवादास्पद अभिव्यक्तिपछि झलनाथको पारो चढेको रहेछ । उनले चर्को स्वरमा आफ्नै शैलीमा ओलीलाई थर्काए ।

‘तपाईंले हामीलाई भारतीय एजेण्ट भन्ने ? तत्काल राजीनामा दिनुस् । राजीनामाको विकल्प छैन । तपाईंले गुट पनि राम्रोसँग चलाउन सक्नुभएन ’, उनले भने ।झलनाथले अगाडि थपे, ‘नक्सा छाप्ने कुरामा नमान्ने तपाईं हैन ? यहाँ ठूला कुरा गर्ने ? बैठकमा भएका कुरामा अरुलाई ढाँट्नुहोला । हामीलाई ढाँट्न सक्नुहुन्छ ?’

उनी रोकिएनन् । ‘तपाईंलाई अब पदमा बसिरहने कुनै नैतिक अधिकार छैन । त्यसमाथि अहिले जुन ढंगले भारतलाई मिसाएर पार्टीका सारा नेताहरूलाई एजेन्ट बनाउने गरी बोल्नुभो, यो गम्भीर, आपत्तिजनक र अनैतिक छ । तपाईंले भारतसँग वार्ता गरेर भूमि फिर्ता गर्न पनि सक्नुहुन्न । अब पनि तपाईंले पदमा बस्न मिल्दैन, दुवै पदबाट राजीनमा दिनुस् ।’

ओलीले बोलिरहँदा झलनाथले दुईपटक प्रतिवदान गरेका थिए । माधव नेपालले गरेको त्यागको प्रसंगमा ओलीले ओठे जवाफ फर्काए ।

‘तपाईंहरूले त्यागको कुरा कसरी गर्नुहुन्छ ?,’ ओलीको प्रश्न थियो, ‘प्रचण्डले ३४ वर्षदेखि एकछत्र पार्टीमा शासन गर्ने, माधव नेपालले १६ वर्ष पार्टी महासचिव हुने, झलनाथले पनि दुईपटक गरेर १३ वर्ष पार्टी चलाएको हामीले हेरेकै हो । तपाईंहरूले त्याग भनेर अरूलाई नैतिकता सिकाउन मिल्दैन होला । बरु अब म प्रधानमन्त्री पनि हुन्नँ, पार्टी अध्यक्ष पनि चाहिँदैन, चुनाव नै लड्दिनँ ।’

यहीनेर हो ओलीलाई ब्रेक लगाउँदै झलनाथले बोलेको । ‘अब त जिते पो लड्नु,’ खनालले यति भन्न नभ्याउँदै ओलीले पनि जवाफ फर्काइहाले, ‘तपाईंको पनि हविगत नबुझेको होइन ।’

झलनाथ बोल्दाबोल्दै ओलीले बैठक स्थल छाडिसकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*