नेकपा बैठक : दुइवटा अध्यक्ष किन बस्नपर्याे भन्दै ओलीले हाजीर जनाएर निस्किए
काठमाडौं । प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी नेकपाको स्थायी समिति बैठकमा शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकछिन उपस्थित भएर बाहिरिएका छन् । शुक्रबार बैठकमा उपस्थित नभएपछि उनको चर्को आलोचना भएको थियो ।
शनिबार भने आलोचनाबाट बच्न प्रधानमन्त्री ओलीले सामान्य ‘हाजिरी’ लगाएर निस्किए । ‘६ महिनापछि बसेको बैठकभन्दा अरु महत्वपूर्ण काम के हुन्छ ? कि भारतसँग वार्ता गर्दै हुनुहुन्छ ?,’ शुक्रबार बैठकमै प्रश्न उठिरहेको थियो ।
शनिबार साढे ११ बजे सुरु भएको बैठकमा झण्डै आधा घण्टा पनि नबसी ओली बाहिरिएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
शनिबारको बैठकमा उनले बैठकमा अनुपस्थित हुनुको कारणबारे एउटा तर्क गरेका छन् । ‘दुईटा अध्यक्ष भएपछि दुवैजना किन बस्नुपर्यो, म प्रधानमन्त्री हुँ, मेरा अरु पनि काम छन्, देश पनि त चलाउनु पर्यो,’ ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने ।
बुधबारबाट सुरु भएको बैठक विहीबार एकदिन स्थगित भएको थियो ।
ओलीले बैठकलाई प्राथमकिता नदिए पनि अर्का अध्यक्ष प्रचण्डले भने आफू निकट नेताहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् । ‘काम विशेषले साँझ बाहिरिएर भोलि बिहान फर्कन अनुमति माग्दा अध्यक्षले पार्टी गम्भीर स्थितिमा पुगेको र बहसले जस्तो पनि रुप लिन सक्ने भएकोले कोही पनि नेताहरुले उपत्यका नछाड्नुहोला,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने ।