अब दुवै अध्यक्षलाई उस्तै कुर्सी, ओलीको अनुपस्थितिमा सोफा हटाइयो
काठमाडौं । सत्तारुढ नेकपाको जारी स्थायी समितिको बैठकमा नेताहरुको जीवनशैली र आचारणको कुरा उठ्यो ।
नेताहरुलाई बस्ने कुर्सी समेत फरक व्यवस्था गर्ने अभ्यासको विरोध भएपछि ओली अनुपस्थित भएको बैठकमा अध्यक्ष प्रचण्डले दुवैजना बस्ने सोफा हटाउन लगाए र सामान्य कुर्सीमा बसे ।
वरिष्ठ नेतासहित अन्य सचिवालय सदस्यका लागि कुर्सी र स्थायी समिति सदस्यका लागि बेन्च राखेको भन्दै नेता भीम रावलले प्रश्न उठाएका थिए । प्रचण्डले सहजै बैठकमा अध्यक्षको आसन फेरिदिए ।
रावलले सरकार र पार्टी नेतृत्वमाथि चर्को आलोचना गरे । उनले अध्यक्षलाई कुर्सी र जीवनशैली फेर्न सुझाव दिएका थिए। उनले अध्यक्षलाई राजा महाराजाको जस्तो सम्मान र नेतालाई दोस्रो दर्ताको जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका हुन् ।
रावलको धारणामा केही स्थायी कमिटी सदस्यले साथ दिएका थिए । सोफा हटाएपछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता र सचिवालय सदस्य बस्ने कुर्सीमै बसेर बैठकको अध्यक्षता गरेका बैठकमका सहभागी एक नेताले जानकारी दिए ।
कुर्सी अगाडि पछाडि भएको र मर्यादाक्रम नमिलेको भन्दै नेताले प्रश्न गरेपछि वरिष्ठ नेतालाई अध्यक्षसँगै दुईतर्फ राख्ने व्यवस्था गरिएको हो ।