ओली अनुपस्थित नेकपा बैठकमा १८ नेताहरूले बोले, अर्को बैठक शनिबार बस्ने

निरन्तर न्यूज
१२ असार २०७७, शुक्रबार २१:३२

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समितिको जारी बैठकमा शुक्रबार १८ जना नेताहरुले आफ्नो धारणा राखेका छन्। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबार सीमा अतिक्रमणबारे छलफल केन्द्रित गरिएको थियो ।

‘आजको बैठकमा निर्धारित कार्यसूचिहरु मध्ये नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी मुद्दाहरुको बारेमा छलफल भयो । यो छलफलमा आज १८ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो विचार राख्नुभयो,’ उनले भने, ‘प्रारम्भमा प्रदीप ज्ञवालीले अहिलेसम्मको घटनाक्रमको विकासबारे जानकारी दिनुभयो र नेपालले कुटनीतिक वार्तामार्फत् नै नेपालको अतिक्रमित भूभाग फिर्ता गर्ने, प्राप्त गर्ने विषयमा प्रयास गरिरहेको विषय राख्नुभयो । तर अहिलेसम्म भारतले वार्ताका लागि सकरात्मक तत्परता देखाइसकेको छैन ।’

प्रवक्ता श्रेष्ठले अगाडि भने, ‘हामी आशा गर्दछौं कि भारत वार्ताको निम्ति तयार हुनेछ । अहिले केही मिडियाले चीनले समेत नेपाली भूभाग कब्जा गरेको भन्ने जुन चर्चा भएको छ, त्यो नियोजित, भ्रामक र प्रायोजित हो भन्ने जानकारी दिनुभएको छ र चीनसँग नेपालको कुनै पनि सीमा समस्या नरहेको पनि जानकारी परराष्ट्रमन्त्री समेत रहनुभएका प्रदीप ज्ञवालीले दिनुभयो ।’

शुक्रबार कुरा राख्ने नेताहरुमा लिलामणि पोखरेल, मातृका यादव, गोकर्ण विष्ट, देव गुरुङ, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, अमृत बोहरा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, वेदुराम भुसाल, रघुवीर महासेठ, केशव बढाल र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

बैठकमा वक्ताहरुले नक्सामा राष्ट्रिय एकता कायम भएकोमा खुसी व्यक्त गर्दै भूमि फिर्ता गर्न यस्तै एकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । अर्को बैठक शनिबार बिहान ११ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पूर्णरुपमा अनुपस्थित रहेको र सरकारी कार्यव्यस्तताले आउन नसकेको जानकारी पाएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*