मुख्यमन्त्री पौडेलद्वारा हेटाैँडाका क्वारेन्टाइन र होल्डिङ स्टेसनको निरिक्षण
हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा सञ्चालित होल्डिङ स्टेसन र क्वारेन्टाइनको निरिक्षण गर्नुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरले संचालन गरेको होल्डिङ स्टेसन र हेटौंडा–९ वडा कार्यालयले संचालन गरेको क्वारेन्टाईनको मुख्यमन्त्री पौडेलले शुक्रबार बिहान स्थलगत निरिक्षण गर्नुभएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानको भवनमा वैदेशिक रोजगारबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई होल्ड गराउने उदेश्यले होल्डिङ स्टेसन संचालनमा ल्याएको छ ।
बिशेष गरि रातीमा आउने त्यस्ता नागरिकलाई बढीमा एक रात राख्न र खाना, पानी र सुत्न समेत मिल्ने गरि व्यवस्थित रुपमा करीब एक सय जनालाई होल्ड गर्न मिल्ने गरि स्टेसन संचालन गरेको छ । जिल्ला समन्व्य समितिले मकवानपुरका स्थानीय तहहरु एवम् विभिन्न संघ÷संस्थाहरुको सहयोग र सहकार्यमा स्टेसन संचालन गरेको छ । गत जेष्ठ २९ गते वाट संचालनमा आएको स्टेसनमा हाल सम्म करीब एकसय जनाले सेवा लिईसकेका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले शुक्रबार बिहान हेटौंडा–९ मा वडा कार्यालयले संचालन गरेको क्वारेन्टाईन सेन्टरको समेत निरिक्षण गर्नुभएको थियो । हेटौंडा–९ मा पनि जिससले सम्पुर्ण समग्री सहयोग गरेर वडा कार्यालयले क्वारेन्टाईन संचालन गरेको हो । वडामा क्वारेन्टाईन संचालन हुँदा बाहिरबाट आउने स्थानीयलाई सहजिलो समेत भएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान हाेल्डिङ स्टेसन र क्वारेन्टाइनकाे व्यवस्थापनलगायतका विषयमा निरिक्षण साथै जानकारी लिनुभएकाे हाे । हाेल्डिङ स्टेसन र क्वारेन्टाइनको स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पौडेलले व्यवस्थापन राम्रो रहेको बताउनुभयो । उहाँले हाेल्डिङ स्टेसन संचालनले विदेशबाट आउनेहरुलाई सम्बन्धीत स्थानीय तहले व्यवस्थापन गर्ने समय पनि पाउने र रातीमा आउनेहरुलाई आराम गर्न समेत मिल्ने हुनाले राम्रो रहेको प्रतिकृया दिनुभयो । निरिक्षणका क्रममा राष्ट्रियसभा सदस्य राचन्द्र राई, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठलगायतको सहभागिता थियो ।