कोरोना त्रासका बीच विहारमा चुनावी सरगर्मी सुरु
नयाँ दिल्ली । भारत कोरोना संक्रमणको सुचीमा अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा छ । नेपालसँग सीमा जोडिएको विहार राज्य पनि भारतका दिल्ली, महाराष्ट्र, गुजरातपछि चौथो स्थानमा छ । विहारमा संक्रमित १० हजार बढी र मृत्यु हुनेको संख्या ५०० बढी भइसकेको छ । तर, अहिले विहारलाई कोरोनालेभन्दा बढी चुनावी सरगर्मीले तताउन थालेको छ ।
विहारमा पछिल्लो विधानसभा निर्वाचन सन् २०१५ मा भएको थियो । यसको कार्यकाल नबेम्बर २९ मा समाप्त हुँदैछ । भारतीय निर्वाचन कानुन अनुसार विधानसभाको कार्यकाल समाप्त हुनु अघि नै नयाँ चुनाव हुनु पर्दछ । तसर्थ, अक्टोबर वा नोभेम्बरमा पर्ने गरी जुनकुनै दिन निर्वाचन आयोगले मतदानको दिन तोक्न सक्दछ । निर्वाच आयोगले त्यसको तयारी गरिरहको छ ।
जेडियु नेता नितिश कुमार अहिले विहारमा मुख्यमन्त्री छन् । उनी सन् २००५ मा पहिलो पटक मुख्यमन्त्री भएका थिए । १५ बर्षयता बीचबीचको छोटो अबधिलाई छोडेर उनी निरन्तर मुख्यमन्त्री छन् । उनका मुख्य प्रतिस्पर्धी आरजेडी नेता तथा पूर्वमुख्यमन्त्री लालु यादवको भन्दा नितिश कुुमारको शासन तुुलनात्मक रुपमा राम्रो मानिन्छ । लालु अहिले जेलमा छन् । उनलाई भ्रष्टाचारको मुद्दामा अदालतले जेल सजाय तोकेको हो ।
सन् २०१५ को विधानसभा निर्वाचनमा भाजपाको विरुद्ध आरजेडी, जेडियु र कांग्रेसले महागठबन्धन बनाएका थिए । भाजपाको देशव्यापी स्वीपिङलाई रोक्न यो गठनबन्धन सफल भएको थियो । निर्वाचनपछि गठन भएको नितिश कुमारको सरकारमा लालुका छोरा तेजस्वी यादव उपमुख्यमन्त्री थिए । तर यो गठबन्धन १ वर्षभन्दा बढी चल्न सकेन । नितिश कुमारले आरजेडीसँगको गठबन्धन तोडी पुनश्चः भाजपासँग गठबन्धन बनाए ।
भाजपा नेता तथा केन्द्रिय गृहमन्त्री अमित शाहले अगामी विधानसभा निर्वाचन जेडियुसँगको गठबन्धनमा लड्ने बताइसेको छन् । भाजपा गठबन्धनले नितिश कुमारलाई नै पुनश्च भावी मुख्यमन्त्रीको उम्मेद्वार घोषणा गर्ने भएको छ । तर निर्वाचन अभियानको कमाण्ड भने गृहमन्त्री अमित शाहले आफैं लिँदैछन् । शाहको कमाण्डलाई ‘विहार अप्रेसन अफ अमित शाह’ भन्न थालिएको छ । शाह समकालीन भारतीय राजनीतिमा कुशल चुनावी रणनीतिकार मानिन्छन् ।
सन् २०१९ को लोकसभा निर्वाचनमा पनि भाजपा र जेडियुसँगै थिए । विहारका कुल ४० सीट मध्ये ३९ सीटमा यो गठबन्धनले जितेको थियो । १ सीटमा विपक्षी गठबन्धनबाट कांग्रेसले जितेको थियो । प्रदेशको मुख्य विपक्षी दल आरजेडी शुन्य भएको थियो ।
अमित शाहले चुनावी कमाण्ड सम्हाल्ने हल्लासंगै विहार राजनीतिमा उतरचढाव शुरुवात भएका छ । २ दिन अघि मात्र ५ जना आरजेडी विधयाकले पार्टी परित्याग गरी जेडियु प्रवेश गरेका छन् । यो घटनासंगै लालु पत्नी तथा पूर्व मुख्यमन्त्री रावडी देवीको प्रमुख विपक्षी दलको नेताको पद गुमेको छ । पार्टी छोड्ने आरजेडीमा पूर्व महामन्त्री पनि छन् ।
ठीक यहीबेला आरजेडी उपाध्यक्ष रघुबन्त प्रसाद सिंहले पदबाट राजिनामा दिएका छन् । उनी अरु कुनै पार्टी प्रवेश गरिहालेका नभए पनि तयारमा हुन सक्ने बताइन्छ । यी घटनासँगै लामो नितिश शासनबाट वाक्कदिक्क भएका जनतालाई विकल्प दिने बिपक्षी प्रयासमा ठूलो संकट आइरहेको छ । प्रदेशका अरु अधिकांश साना पार्टीहरु पनि सत्तापक्षीय गठबन्धनमा नै सामेल हुने सम्भावना बढेको छ ।
गत हप्ता विहार नागरिक समाजका अगुवा तथा बौद्धिकहरुले विपक्षी ५ पार्टीको संयुक्त बैठक आयोजना गराएका थिए । बैठकमा ३ कम्युनिष्ट समूह सिपिआई, सिपिएम, सिपिआईएमएल, आरजेडी र कांग्रेस सामेल थिए । यी ५ पार्टीबीच विपक्षी गठबन्धन बन्न सक्ने संभावना कायमै छ ।
चर्चित विद्यार्थी नेता कन्हैया कुमारको लोकप्रियता र सक्रियताले विगत वर्षहरुमा प्रदेश राजनीतिमा कम्युनिष्ट समूहहरुको भूमिका केही बढेको ठानिएको छ । पूर्व मुख्यमन्त्री जीतनराम माझीको समूह पनि विपक्षी गठबन्धनमा सामेल हुन सक्ने बताइन्छ ।
भाजापाका पूर्व अध्यक्ष तथा गृहमन्त्री अमित शाह अधिकांशतः चुनावी रणनीतिमा सफल रहँदै आएका छन् । उनी असफल भएको अहिलेसम्म दिल्लीमा मात्र हो । दिल्ली तुनालात्मक रुपमा सचेत मतदाता भएको प्रदेश हो । तथापि दिल्लीमा पनि भाजपा बिल्कुल कमजोर भने छैन । त्यहाँको प्रमुख प्रतिपक्ष दल भाजपा नै हो ।
सन् २०१९ लोकसभामा दिल्लीमा सबै ७ सीट भाजपाले नै जितेको थियो । पछिल्लो पटक चुनाव भएका महाराष्ट्र र झारखण्डमा भाजपाले सरकार गठन गर्न नसके पनि बलियो उपस्थिति जनाएको छ ।
विहारपछि पश्चिम बंगालमा विधानसभा चुनाव हुनेछ । अमित शाहको ध्यान यतिखेर विहार र पश्चिम बंगालमा छ । विहार ग्रमिण र बिपन्न मतदाता धेरै भएको प्रदेश भएको हुँदा यहाँ अमित शाह र नितिश कुमारको चुनावी जादु फेरि चल्ल सक्ने अनुमान गर्न थालिएको छ । कांग्रेस यहाँ कमजोर पार्टी मानिन्छ । तर अरु विपक्षी पार्टीको तुलनामा कांग्रेसको स्थिति सुधार हुँदै गएको अनुमान पनि छ ।
५ विधायकको पार्टी परित्याग र पार्टी उपाध्यक्षको राजीनामापछि पार्टी नेता तेजस्वी यादब दबाबमा परेका छन् । उनका मातापिता लालु र रावडी दुबै विहारका मुख्यमन्त्री भइसकेका छन् । कोरोनापछि नितिश सरकारप्रति जनअसन्तोष बढ्दै गएको थियो । विपक्षी गठबन्धनलाई फाइदा हुन सक्ने र तेजस्वी भावी मुख्यमन्त्री हुन सक्ने अनुमान गरिन थालेका थिए । तर, गठबन्धनका नयाँ चलखेलसँगै फेरि भाजपा–जेडियु गठबन्धन हावी हुन सक्ने सम्भावना बढेको छ ।
१० करोड बढी जनसंख्या भएको विहार भारतकै गरिब प्रदेशमध्ये एक हो ।