समाजवादी पार्टीकाे माग ‘घर जान चाहने जनताको उद्धार गरी गृह जिल्लासम्म पुर्याउ’
काठमाडौं । समाजवादी पार्टीले काठमाडौंबाट घर जान चाहने र पैदलै घर गइरहेका जनताको उद्धार गरी गृह जिल्लासम्म पुर्याउने व्यवस्था गर्न माग गरेको छ ।
समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक प्रेस विज्ञप्ति निकाली उक्त माग गरेका हुन् ।
तराई मधेस लगायत विभिन्न जिल्ला र क्षेत्रबाट काठमाडौंमा आएर काम गरिरहेका मजदुर, विद्यार्थी र सानातिना व्यवसाय गरी बस्नेहरु लकडाउनले गर्दा दैनिक जीविका चलाउन समेत नसक्ने अवस्थामा बिचल्लीमा परिरहेको बेला तथा कतिपय जनता पैदलै हिडेर घर गइरहेकोले उनीहरुको यथासिघ्र व्यवस्थापन गर्ने कार्यमा सरकार असफल भएको अध्यक्ष यादवले बताएका छन् ।
उनले सर्वहारा र श्रमिक वर्गले यसरी दुःख पाउँदा नेपालको कम्युनिस्ट सरकार र शासक वर्गले यस विषयलाई गम्भीरतापूर्वक नलिनु जनतामाथिको अनादर र अपमान भएको बताएका छन् ।
यस्ता पीडा, कष्ट र असमर्थताको अवस्थामा सरकारले तत्काल उनीहरुका लागि खाने, बस्ने, औषधि आदिको व्यवस्था गर्नुपर्ने यादवले औल्याएका छन् ।
विज्ञप्तिमा यादवले घर जान चाहने र हिडेरै घर गइरहेका जनतालाई यथासिघ्र गृह जिल्लासम्म पुर्याउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।