अब कोभिड-१९ बारे एकीकृत सूचना प्रणालीबाट जानकारी पाइने
काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले कोभिड-१९ सँग सम्बन्धित एकीकृत सूचना प्रणाली सञ्चालन गर्ने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले उपस्थितिमा भएको एक कार्यक्रममा एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली सार्वजनिक गरिएको बताइएकाे छ । यससँगै मन्त्रालयले कोबडी (cobuddy) नामक एप्स प्रयोगमा ल्याउने भएकाे छ ।
नेपालको कोभिड-१९ का आधारभूत सूचना, नाका तथा हवाइमार्गबाट आएका व्यक्तिहरुको विवरण, सामुदायिक क्वारेन्टाइनमा वा आफ्नै घरमा क्वारेन्टाइनमा बसेकाहरुको विवरण, स्वास्थ्य अवस्था, आइसोलेसनमा भएका व्यक्तिहरुको विवरण लगायत प्रत्येक जिल्लाबाट संकलन गरिएका स्वाब आदिको नेपालभरिको जानकारी एकै ठाउँबाट प्राप्त हुनेगरि एप्स बनाइएकाे बताइएकाे छ ।