कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या १६ हजार ५ सय पुग्यो
एजेन्सी । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या १६ हजार ५ सय ६५ पुगेको छ । गत डिसेम्बरमा देखिएको भाइरसका कारण सबैभन्दा बढी इटाली प्रभावित बनेको छ ।
इटालीमा मात्रै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६ हजार ७७ जना पुगेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजारभन्दा बढी छ ।
अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४ सय ९५ पुगेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी छ । कोरोनाको केन्द्रबिन्दु मानिएको युरोपमा सङ्क्रमण दर तीव्र गतिमा बढ्दै गएको छ । स्पेनमा ३३ हजार सङ्क्रमित भएका छन् भने १७ सय ७२ जनाको मृत्यु भएको छ ।
सङ्क्रमितहरु निको भएर घर फर्किने क्रम पनि बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणको उपचारपछि झन्डै एक लाखभन्दा बढी नागरिक घर फर्केका छन् ।