सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ घाइते

निरन्तर न्यूज
२८ फाल्गुन २०७६, बुधबार ११:२१

नवलपरासी । पूर्वीनवलपरासीमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार, मंगलबार साँझ गैंडाकोटबाट पहाडी मार्ग बुलिङ्गटार जाँदै गरेको अ यो ००२७ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते दाङका ५३ वर्षीय विमलचन्द्र सुवेदीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक राप्ती नगरपालिका–४, चितवनका २२ वर्षीय निर्जल हुमागाई, रौतहटको वागमती नगरपालिका–२ का ३९ वर्षीय दलबहादुर सलामी मगर, नुवाकोट ककनी नगरपालिका–४ का २६ वर्षीय रितिक लामा र २६ वर्षीय गौतम घले घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यसैगरी, गएराति नै गैंडाकोट नगरपालिका–५ मा ना ३ च २२६१ नम्बरको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय, गैंडाकोटका अनुसार, गम्भीर घाइते पालुङटार गाउँपालिका–१०, गोरखाका ३५ वर्षीय ज्ञानबहादुर कुँवरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो ।

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*