उराठ होली : सडकमा मान्छे छैनन्, पसलमा व्यापार छैन

निरन्तर न्यूज
२६ फाल्गुन २०७६, सोमबार १५:२८

काठमाण्डाै । कोरोना भाइरसको त्रासका कारण यसपटक होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको छ । अर्कोतिर सरकारले समूह वा जमघटमा होली नखेल्न दिएको निर्देशनले पनि होलीको दिन काठमाण्डौका सडक सुनसान छन् ।

विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्र यसपटक सुनसान देखिन्छ । केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ, अबिर साटेका छन् ।

‘पोहोर परार यहाँ निकै रमझम हुन्थ्यो । अहिले त मान्छे नै छैनन् । पाटन सुनसान देखिन्छ,’ पाटनै घर भएकी शर्मिला खड्गीले भन्नुभयो । उहाँका अनुसार सडकमा यसपटक अबिर दलेर हिँड्नेहरु निकै कम देखिएका छन् ।

विद्यार्थीहरु पढ्नमै व्यस्त

सरकारले चैत ५ गतेसम्म परीक्षा सक्न निर्देशन दिएकोले धेरै विद्यालयले भोलि मंगलबारदेखि परीक्षा सुरु गर्दैछन् । त्यसैले अधिकांश विद्यार्थीले होली खेल्न छाडेर परिक्षाको तयारी गरिरहेका छन् । उनीहरुले कोरोनाको डरसँगै परीक्षाको तयारीका कारण सडकमा निस्किएर होली नखेलेको बताएका छन् । सचेत अभिभावकले पनि छोराछोरीलाई यसपालि होली खेल्न प्रेरित गरेका छैनन् ।

ग्वार्कोमा भेटिनुभएका सर्लाहीको हरिवनका केदारप्रसाद लुइँटेलले भन्नुभयो, ‘सरकारले नै होली नखेल्न भनेको छ । डाक्टरले पनि नखेल्न सुझाव दिएका छन् । त्यसमाथि भोलिदेखि परीक्षा छ । त्यसैले मैले छोराछोरीलाई घरमै पढ्न भनेको छु । अबिरको टीका लगायौं र होलीको शुभकामना साट्यौं ।’

पसलमा व्यापार छैन

कोरोनाकै कारण यो वर्ष होलीमा लगाइने टिसर्ट, अबिर र पिचकारीको व्यापारमा निकै कमी आएको व्यापारीहरुले बताएका छन् । होलीको लागि पुसको सुरुमा भारत र चीनबाट सामान मगाएका व्यापारीले ती सामान बिक्री नभएर गोदाममै थन्किएको बताए । यस पटकको होलीमा व्यापार नहुने देखेर धेरै खुद्रा व्यापारीले सामान नै नकिनेको अबिरको होलसेल व्यापार गर्ने महोत्तरीका सञ्जय साहले बताउनुभयो ।

‘मैले २५ लाख रुपैयाँभन्दा धेरैको सामान ल्याएको थिएँ । तर खुद्रा व्यापारीहरु किन्न आएनन् । २० लाख रुपैयाँको माल गोदाममै थन्किएको छ ।’ साहले भन्नुभयो ।

यस्तै, पाटनमा होलीका सामान बेचिरहेका रौतहटका सञ्जय गुप्ताले पोहोरको तुलनामा यसपालि ५ प्रतिशत पनि व्यापार नभएको बताउनुभयो ।

उच्छृङ्खल गतिविधि शून्य

यसपटक सडकमा उच्छृङ्खल क्रियाकलाप पनि निकै कम भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले अहिलेसम्म उच्छृङ्खल गतिविधि भएको कुनै जानकारी नआएको बताउनुभयो ।

‘यसपटकको होली अहिलेसम्म निकै सभ्य छ । सडकमा खासै भिडभाड छैन । होली खेल्दै हिड्नेहरु कम देखिएका छन् ।’ प्रवक्ता बोगटीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

गएको वर्षको होलीमा जबरजस्ती लोला हान्ने, अबिर लगाइदिने र जिस्काउनेलगायतका उच्छृङ्खल गतिविधि गर्ने झण्डै २ सय जना पक्राउ परेका थिए ।

यस्तै होलीको दिन ट्राफिक नियम मिच्नेहरु पनि घटेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले यसपटक मान्छेहरु घरभित्रै रहेकाले सडकमा गाडीको संख्या निकै कम रहेको र नियम मिच्नेहरु पनि घटेको जानकारी दिनुभयो ।

श्राेत : उज्यालाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*