कोरोनाबाट बच्न भन्दै घरेलु रक्सी खाँदा ज्यान गयो

निरन्तर न्यूज
२६ फाल्गुन २०७६, सोमबार ०९:५०

एजेन्सी । कोरोना भाइरसले आतंक मच्चाइरहेको इरानमा रक्सी सेवनबाट बिरामी हुने मानिसको संख्या पनि बढिरहेको छ ।

घरेलु रक्सी सेवनबाट बिरामी भएर अस्पताल भर्ना हुनेको संख्या वृद्धि भइरहेको अल अरेबियाले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न घरेलु तथा ब्रान्डेड रक्सी खाँदा मानिसहरू बिरामी भएको समाचारमा उल्लेख गरिएको छ ।
अल अरेबियाले इरानका प्राध्यापक शाहीन शादनिया लाई उदृत गर्दै बिरामीमध्ये केहीको ज्यान गएको पनि जनाएको छ । ‘अधिकांश बिरामीले रक्सी सेवन गर्दा कोरोना भाइरसबाट बच्न सकिने गलत धारणा राखेको पाइन्छ’, शादनियालाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

समाचार अनुसार उच्च मात्रामा मिथानोल मिसाइएको रक्सी खाँदा मानिसको ज्यान गएको बताइएको छ । मिथानोल भनेको सोलभेन्ट, पेस्टिसाइड वा विषादी र इन्धनको रुपमा प्रयोग गरिने रसायन हो ।

मिथानोल मिसाइएको रक्सी सेवनबाट आँखाको ज्योति गुम्ने, मस्तिष्कमा हानि पुग्ने वा हृदयघात हुने जोखिम पनि हुने गर्छ ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि मध्यपानमाथि प्रतिबन्ध लगाएको छ । तर कतिपय मानिसहरूले गोप्य रुपमा घरमा रक्सी बनाउने र सेवन गर्ने गरेको पाइन्छ । यसरी घरमा रक्सी बनाउँदा मिथानोल मिसाइने गरिन्छ ।

कोरोना भाइरसबाट हालसम्म इरानमा १९४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमित हुनेको संख्या ५ हजार ८ सय २३ पुगेको छ ।

यता राष्ट्रिय ध्वजाबाहक इरान एयरले युरोपतर्फका सबै उडान बन्द गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सुरुमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस हालसम्म ८१ मुलुकमा फैलिइसकेको छ । विश्वभर भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७ हजार २ सय ३३ पुगेको छ । त्यस्तै ३ हजार ६ सय २९ जनाले ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*